पछ्यौरीमा अल्झिएको मन
तिमीलाई शहर पठाउन
म टाढासम्म आएँ
अनि, फर्कने बेला
सुटुक्क आफ्नो मन
तिम्रो पछ्यौरीमा अल्झाइदिएँ
तिमीले पनि त
चाल नपाएजस्तो गर्यौ
र, सवैको आँखा छलेर
त्यसलाई छातीमा टास्यौ
प्रिया,
मेरो मनलाई
सम्हालेर राख है!
हो,
मलाई थाहा छ
बाटाहरु सजिला छैनन्
साँघुरा गल्लीहरुमा
तिमीले सामना गर्नुपर्ने
साँघुरिएका मनहरु
अनि,
एकोहोरो तिमीतर्फ केन्द्रीत
तिनका कुटिल नजर....
पक्कै पनि
बाटाहरु सजिला छैनन्
तर प्रिया,
म त मन बाँच्छु
आँखाले होइन
मनले हेर्छु
कानले होइन
मनले सुन्छु
मस्तिष्कले होइन
मनले सोच्छु
बाहिरवाट हेर्दा
जस्तो देखिएपनि
वास्तवमा
म एउटा मन हुँ
......मात्र मन
र,
अहिले त्यो मन
तिम्रो पछ्यौरीमा
अल्झिएको छ
प्रिया,
त्यसलाई
सम्हालेर राख है !
Bibhor Baral
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home