कुकुरहरूको विजयगान
मोहन दुवाल (वनेपा)
कुकुरहरू पुच्छर हल्लाउँदै
चोक चोकमा देखा परिरहेछन्
हड्डी फालिएको छ यताउता जताततै
-याल चुहाउँदै घम्साघम्सी गर्दैछन् -
चोकभरि देखापरेका कुकुरहरू ...
उनीहरू मिलेर पटक्कै खान जाँदैनन्
त्यसैले त उनीहरू टोकाटोक गर्दै जिइरहेछन्
दुर्गति यस्तैगरी भोग्छन्, एकआपसमा कलह रोपेर
हिजोजस्तै आज पनि उनीहरू मारामार गर्दैछन्
यसरी नै भोग्छन् कष्टहरू कस्ता अभागी कुकुरहरू ....
सुँघ्न जानेका, मालिकका तावेदारी गर्न सिकेका
कुकुरहरू समय मिलाएर पुच्छर हल्लाउँछन्
अरुहरूभन्दा निकै माहिर छन् उनीहरू
इस्पात भन्दा कडा दाँतहरू बोकेर आज पनि
हिजोजस्तै हड्डीकै लुछाचुँडी गर्दैछन् कुकुरहरू ....
दासहरूजस्तै नियति भोग्छन् - कुकुरहरू
बाँधिएका कैदीहरूझैं चुपचाप छन् - कुकुरहरू
मिलेर कहिल्यै बस्न नजानेका उनीहरू
आज पनि टोकाटोक गर्दैछन् आफू आफूहरू -
हड्डी ठिङ्ग बाँकी छ चोकमा तर भोक सुँघ्दैछन् कुकरहरू ...
समूह समूहमा विभक्त भएर विजयगान गाउँदैछन् उनीहरू
आफ्नै नारा र भाषामा विचार सुनाउँदैछन् उनीहरू
बलियोले नै साम्राज्य चलाउन पाइने संविधान कल्पेर उनीहरू
विभाजनमा रमाउँदै आज विजयगान गाउँदैछन् चर्को स्वरमा
घाम छक्क पर्दै प्रकाश बाँड्दैछन् र हर्दैछन् कुकुरहरू .....
साभार नेपाली कविता डट कम
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home